‘उपभोक्ता हित संरक्षण मञ्च-नेपाल’ नेपालमा उपभोक्ता विधिशास्त्र र उपभोक्तावादलाई वस्तु वा सेवा क्षेत्रमा प्रवेश गराउन निरन्तर वकालत गर्दै आई स्वच्छ बजार र उपभोक्ता हित संरक्षणको क्षेत्र विस्तार गर्न एक अग्रणी संस्थाको रूपमा भूमिकाहरू निर्वाह गर्दै आएकोछ । मञ्चको निरन्तर पहलको फलस्वरूप नेपालमा उपभोक्ता संरक्षणसम्बन्धी ऐन, नियम, निर्देशिकाहरूको तर्जुमा भई जारी भएको र उपभोक्ता संरक्षण सम्वन्धी नीति, कानूनहरुको मस्यौदा तयार गरी जारी गर्न निरन्तर वकालत गर्दै आएकोछ । उपभोक्ता संरक्षण परिषद्, जिल्ला अनुगमन समितिहरू, जिल्ला क्षतिपूर्ति समितिहरू, प्रतिस्पर्धा बोर्डलगायत नेपाल सरकारवाट गठित विभिन्न आयोग समितिहरूमा उपभोक्ताको तर्फबाट प्रभावकारी प्रतिनिधित्व गर्दै आएकोछ । मञ्चको उपभोक्ता जागरण कार्यक्रम सञ्चालनबाट उपभोक्ता सचेतनामा अभिवृद्धि हुँदै आएकोछ । उपभोक्ता अधिकारको संरक्षण र प्रवद्र्धन सम्बन्धमा विभिन्न सञ्चार माध्यमहरूद्वारा मञ्चको तर्फबाट निरन्तर विचारहरू प्रवाह भई उपभोक्ता सचेतनामा अभिवृद्धि हुँदै आएकोछ । उपभोक्तालाई पर्ने मर्काका विरुद्ध उपभोक्ताका तर्फबाट सम्बन्धित निकायमा मञ्च आफैंले उजुरी गर्ने, सरकारवादी भएर चल्ने मुद्दामा वा उपभोक्ता आफंै वादी भएर चल्ने मुद्दाहरूमा पीडितको पक्षमा कानुनी सहायता प्रदान गर्नुका साथै उपभोक्ताका सार्वजनिक सरोकारका विषयहरूमा समेत मञ्च आफैंले उजुर गरी उपभोक्ताका हितमा न्यायिक उपचार प्राप्त हुँदै आएकोछ । वस्तु वा सेवाको दर्र्ता आपूर्ति, मूल्य, गुणस्तर, नापतौल, विज्ञापन, नियमन र करका सम्बन्धमा सोध अनुसन्धान, गोष्ठी, छलफल र सचेतना कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएकोछ । वस्तु वा सेवाको बजार अनुगमन गरी अनुचित व्यापारिक क्रियाकलाप, एकाधिकारपूर्ण व्यापारिक क्रियाकलाप र निषेधित व्यापारिक क्रियाकलापहरूलाई नियन्त्रण तथा निरोधात्मक क्रियाकलाप गर्दै आएकोछ । पीडक सेवा प्रदायक तथा पीडित उपभोक्ताबीच मेलमिलापका माध्यमद्वारा र मेलमिलाप हुननसके कानूनी उपचार मार्फत उपभोक्ताको हित संरक्षण गर्दै आएकोछ ।